मेलम्चीको काम पुरानै ठेकदारलाई |
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँगको सम्झौता अवधि थप गरेको छ । ठेक्काको मूल्य समायोजन (भेरिएसन) गर्दै समितिले सिनोलाई आयोजनाको हेडवर्क्सको काम सक्न असार महिनासम्मको समय दिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेलका अनुसार असारसम्मको समय दिएपनि चैतको मध्यसम्म निर्माण सकेर सुरुङमा पानी भर्न थाल्ने गरी काम गर्न निदेशन दिइएको छ । उनका अनुसार नयाँ वर्षमा काठमाडौंमा पानी खसालेर वितरण थाल्ने योजना छ ।
सिनोले करिब ३२ करोड रुपैयाँ ठेक्काको भेरिएसनबापत पाउने भएको छ । आयोजनाले मन्त्रिपरिषदबाट ठेक्काको भेरिएसन गर्ने स्वीकति पाएको थियो ।
कार्यकारी निर्देशक पौडेलका अनुसार पुस मसान्तमा बसेको मन्त्रिपरिषद बैठकले विशेषा परिस्थितिको कारण देखाएर मेलम्चीको ठेक्काको अवधि र मूल्य थप्न दिने स्वीकृति दिएको थियो । त्यसअनुसार समितिले माघको पहिलो हप्तामै ठेक्का भेरिएसन स्वीकृत गरेर सिनोलाई साइटमा जान भनेको हो ।
चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउनले घोषणा गरेको थियो । तर, अहिलेसम्म आयोजनामा निर्माणको काम शुरु हुन सकेको छैन ।