गणपति लघुवित्त नाफा खुम्चियो |
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९६ लाख ३७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६७.४० प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ०.७८ प्रतिशत र सञ्चालन मुनाफा ८९.२४ प्रतिशतले घटेको छ ।
यस्तै लघुवित्तले कर्मचारी तथा अन्य सञ्चालन खर्च नियन्त्रण गर्न नसक्दा नाफा खुम्चिन थप सहयोग पुगेको हो ।
यस अवधिमा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ कर्मचारीको लागि र १ करोड ५६ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।
लघुवित्तले ५१ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन तथा एक अर्ब ४५ करोड ४७ लाख रुपैयाँ सापटि लिएर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसवाट लघुवित्तले ६ करोड ३१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
चुक्ता पूँजी १२ करोड ७३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ३१ लख रुपैयाँ संञ्चित रहेको छ ।
लघुवित्तको खुद नाफा खुम्चिएपछि प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २९ पैसाले घटेर १५ रुपैयाँ १३ पैसामा झरेको छ ।
यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात ९३.८९ गुणा रहेको छ ।