नेपाल बैंकको खुद नाफा ४.९३% बढ्यो |
काठमाडौं । नेपाल बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४.९३% ले बढेर १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा भने बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल बैंकको खुद ब्याज आम्दानी १.८०% ले बढेपनि सञ्चालन नाफा २०.०८% ले घटेको छ । यद्दपि, १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि बैंकको खुद नाफा बढेको हो ।
बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । रिजर्भ कोष पनि ६.४३% ले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । चुक्त पुँजी १४% ले बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि भने १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा आइपुगेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने २३८ रुपैयाँ १२ पैसा छ ।