२३ बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक ː ३ बैंकको नाफा २ अर्बमाथि | इपीएसमा एनआइसीको छलाङ
काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये १४ बैंकले १ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । जसमध्ये ग्लोबल आइएमई, एनआइसी एसिया र नबिल बैंकको नाफा २ अर्ब रुपैयाँ माथि छ । २३ वाणिज्य बैंकको कुल नाफा २९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकमा ग्लोबल आइएमई देखा परेको छ । यसको नाफा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ छ । सिभिल बैंकले भने नाफामा सबैभन्दा आकर्षक वृद्धि गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १४८.४२% ले वृद्धि भएको छ । ५ बैंकको खुद नाफामा भने गिरावट आएको छ । एक वर्षको अवधिमा वित्तीय विवरण सार्वजनिक गर्ने २३ बैंकको समग्र नाफा ११.२८% ले मात्र बढेको छ ।
एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा छ । जुन गत वर्षको भन्दा ५ रुपैयाँ ७० पैसा धेरै हो । एनआइसी एसियाले गत वर्षको नाफाबाट १५% बोनस सेयर घोषणा गरेको छ ।
यद्दपि, साधारण सभा भने गरेको छैन । उक्त बोनस सेयर वितरण भएमा भने प्रतिसेयर आम्दानी केही घट्न सक्छ । सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै १० रुपैयाँ ४१ पसाले बढेको छ । वित्तीय विवरण सार्वजनिक गर्ने २३ वाणिज्य बैंकको औसत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५६ पैसा देखिएको छ ।