अन्तरराष्ट्रिय पोल्ट्री सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न |
चितवन । चितवनको भरतपुरमा सञ्चालित ३ दिने अन्तरराष्ट्रिय पोल्ट्री सिम्पोजियम (सम्मेलन) ८ बुँदे घोषणापत्र जारी गर्दै बुधवार सकिएको छ । सम्मेलनले नेपालमा पोल्ट्री व्यवसायको विकासका लागि विभिन्न निष्कर्षहरू निकालेको छ ।
सम्मेलनले नेपालमा पोल्ट्री उत्पादनसम्बन्धी आधारभूत तथ्यांक अद्यावधिक नहुँदा कुखुरा उत्पादन, अनुसन्धानमा समस्या भएकाले एक सशक्त र अद्यावधिक तथ्यांक व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मेलनले सशक्त र एकीकृत पोल्ट्री प्रजनन् तथा व्यवस्थापन रणनीति विकास गर्नुपर्ने, दक्ष जनशक्तिको माग पूर्ति गर्न विश्वविद्यालयहरूमा अलग्गै पोल्ट्री विभाग स्थापना गरी स्नातकोत्तर र विद्यावारिधि तहका कार्यक्रम सञ्चालन गर्नुपर्ने, मध्यम स्तरको प्राविधिक जनशक्ति तयार गर्न व्यावसायिक तालिम र निरन्तर शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सम्मेलनमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरा पालनजस्ता विधामा १५ आमन्त्रित वैज्ञानिकको अनुसन्धानमूलक कार्यपत्र र ३५ विभिन्न मौखिक कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भूटान र इजिप्ट गरी विभन्न ८ राष्ट्रका वैज्ञानिक सहभागी भएका थिए । प्राध्यापक, विद्यार्थी, व्यवसायी गरी तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि संगठन, हेफर इण्टरनेसनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सम्मेलन आयोजना गरिएको हो ।