माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँड, ३० कित्तादेखि अधिकतम १०३ कित्तासम्म बाँडियो |
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बाँडफाँट गरेको हो ।
आयोजना प्रभावितका लागि जारी गरिएको आइपीओमा २ लाख ७६ हजार १९४ आवेदनबाट ३ करोड ७७ लाख ७ हजार ९० कित्ताको माग परेको थियो । आयोजनाको प्राथमिक सेयर एक जनालाई १ सय ३ कित्तासम्म बाँडफाँड गरिएको छ । कुल २ लाख ७६ हजार १ सय ९४ वटा आवेदन परेकोमा १० वटा आवेदन रद्ध भएका छन् ।
आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दालाई क्रमशः ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरी आइपीओ बाँडफाँड गरिएको हो । सबै आवेदकलाई कम्तीमा ३० कित्ता र अधिकत्तम १०३ कित्ताका दरले बाँफाँड भएको हो । अति प्रभावित ‘क’ वर्गमा कुल ५ हजार ५० आवेदकलाई ३० देखि १०० कित्ता माग गर्ने सबैलाई मागे जति सेयर बाँडफाँड गरिएको छ । ११० कित्तादेखि ३०० कित्ता माग गर्ने सबै आवेदकलाई १०२ कित्ताका दरले ५ लाख १० हजार ९ सय कित्ता शेयर वितरण गरिएको छ ।
आयोजना प्रभावित ‘ख’ वर्गका आवेदकहरु मध्ये ३० कित्ता देखि ४० कित्ता शेयर माग गर्नेहरुलाई माग बमोजिम र ५० कित्ता देखि ३०० कित्तासम्म माग गर्ने सबै आवेदकलाई ४८ कित्ताको दरले ३७ लाख ७७ हजार ५८६ कित्ता सेयर बाँडफाँट गरिएको छ । यस्तै, दोलखा जिल्लाका अन्य बासिन्दा ‘ग’ वर्गका आवेदकमध्ये ३० कित्ता शेयर माग गर्नेलाई माग बमोजिम, ४० कित्ता शेयर माग गर्नेलाई ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेलाई ३४ कित्ताका दरले ६२ लाख ९९ हजार ८६६ कित्ता शेयर बाँडफाँट गरिएको छ । शेयर बाँडफाँडका क्रममा सेयर नपरेको पैसा पाँच दिनभित्र आवेदकलाई फिर्ता गरिसक्ने कम्पनीले जानकारी दिएको छ ।
यसरी शेयर बाँडफाँड गर्दा बाँकी रहेको १ हजार ५ सय ९८ कित्ता सेयर क वर्गका ३०० कित्ता सेयर माग गर्नेहरुलाई गोलाप्रथाबाट १ कित्ताका दरले थप गरिएको छ । माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । कम्पनीको साधारण सेयर नागरिक लगानी कोषको बिक्री प्रबन्धकत्व तथा सनराइज क्यापिटलको सह बिक्रीप्रबन्धकत्वमा निष्काशन भएको थियो ।
अब दोस्रो चरणमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कात्तिक १५ गतेदेखि एक अर्ब ५८ करोड ८५ हजार रुपैंया बराबरको सेयर १ सय रुपैंयाको दरमा निष्काशन गर्दैछ । तामाकोशीले निर्धारित समयमा नभई १ वर्ष पछि मात्र व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने भएको छ । यसले भने तामाकोशीका लगानीकर्तालाई केही निराश बनाउने देखिन्छ ।