दरबारमार्गमा क्याफे कफी डे, मेनुमा मःमः र पिज्जा पनि थप |
काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्राण्ड ‘क्याफे कफी डे’ (सीसीडी) ले आफ्नो तेस्रो नयाँ आउटलेट काठमाडौंको अत्यन्त भीआईपी एरिया दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको उद्घाटन नेपालकी लोकप्रिय नायिका स्वस्तिमा खड्काले आज गरेकी हुन् ।
लोकप्रिय क्याफेले आफ्नोे सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ र यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोष गरेको छ । यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । यसमा खानाको परिकारका साथै पेय पदार्थहरूमा पनि विकल्पहरू देख्न सकिने बताएको छ ।
सीसीडीका अनुसार नेपाली उपभोक्ताहरूका लागि अत्यन्त लोकप्रिय खाना मःमः पनि मेनुमा समावेश गरेको जानकारी दिएको छ । साथै, अन्तरराष्ट्रियस्तरमै सबैले मन पराइएको पिज्जाका साथै बिर्यानी, चिकेन बटर मसला विथ राइस र वोक टोस्ट ओरिएण्टल फ्राइड राइसजस्ता परिचित परिकारहरू पनि समावेश गरिएको छ । दुईटा फ्लोरमा विभाजित उक्त आउटलेटमको पहिलो तल्लामा ४० र दोस्रो तल्लामा ३० जनाको सिट क्षमता रहेको छ ।
काठमाडौंका अनेकन रमाइला दृश्यहरूको अवलोकन गर्न सकिने सीसीडीमा स्थानीय वास्तुकला र परिदृश्यदेखि प्रेरित विशिष्ट नेपाली डिजाइनका कलाकृतिहरूले सजावट गरिएको छ । नेपालमा ब्राण्ड क्याफे कफी डेका मास्टर फÞ्रैंचाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, ‘हामीले दरवारमार्गमा एउटा नयाँ आउटलेट सञ्चालनमा ल्याउन सफल भएकोमा एकदमै खुशी छौं । हामीलाई आशा छ कि नेपाली जनताले हाम्रो आउटलेट मनपराउनेछन् र विश्वकै उत्कृष्ट कफीको साथमा अन्य आउटलेटहरूमा पनि रमाउनेछन् ।’
सीसीडीले पहिलेदेखि नै अन्तरराष्ट्रिय बजारमा आफ्नो बलियो पकड़ बनाइसकेको छ । यसअघि उपत्यकाका जवालाखेल र वसन्तपुरमा पनि सीसीडीका आउनेलट सञ्चालनमा रहेका छन् । सीसीडीले नेपालका अन्य स्थानहरूमा पनि थप आउटलेट सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएको छ ।