नेपालमा लगानी गर्न कतारी उद्योगीलाई परिसंघको आग्रह |
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारका उद्योगी(व्यवसायीहरुलाई आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा कतार भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा सहभागी परिसंघका अध्यक्ष हरिभक्त शर्माले कतारका विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी (व्यवसायीहरूसँगको अन्तरक्रियामा कतारी उद्योगीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
उनले नेपालमा लगानीको वातावरण बनेको बताउँदै व्यवसाय एवम् लगानीका अवसरहरूका बारेमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । उनले नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको जानकारी दिँदै मुलुकले नयाँ संविधान प्राप्त गरेको, स्थिर सरकार बनेको कारण आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताए ।
लगानीको वातावरण बन्दै जाँदा सबै क्षेत्रमा आम्दानीमा वृद्धि भई शिक्षाको स्तर वृद्धि हुने, विप्रेषणको रकममा उल्लेख्य वृद्धि हुने, समष्टीगत आर्थिक स्थायित्व उच्च रही बढी नाफाको सम्भावना उनको भनाइ छ । उनले नेपालको पूँजी बजारमा सूचीकरण गरिएका केही उद्योगहरूको उदाहरण दिँदै नेपालमा कृषिजन्य उद्योगमा वैदेशिक लगानीका लागि खाद्य प्रशोधनमा साधन, औद्योगिक वस्तुहरूमा गृह सामग्री, औषधी र वायोटेक प्रमुख क्षेत्र हुनसक्ने उनले बताए ।
अध्यक्ष शर्माले भने, ‘पूर्वाधार विकासको सन्दर्भमा विमानस्थलको विकासमा लगानी गर्न काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति र निजगढमा अन्तरराष्ट्रिय विमानस्थलमा लगानीका पर्याप्त सम्भावना छन् । यसका अलावा राजमार्गको लगानीमा हेटौंडा–काठमाडौं टनेल हाइवे, विभिन्न शहर जोड्ने एक्सप्रेस वेज पनि लगानीका अवसर भएका क्षेत्र हुन् ।’
उनले रेल यातायातको क्षेत्रमा पूर्व–पश्चिम विद्युतीय रेल, पोखरा–काठमाडौं रेल्वेमा लगानी गर्न कतारी उद्यमी व्यवसायीलाई आव्हान गरे । साथै उनले पर्यटन क्षेत्र पनि लगानीका लागि सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।