माथिल्लो तामाकोशीको आज शेयर बाँडफाँट हुँदै | क वर्गकाले कम्तीमा १ सय २, ख वर्गकाले ४८ र ग वर्गकाले ३४ कित्ता शेयर पाउने सम्भावना
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) को आज शेयर बाँडफाँड गर्दै छ । गत साउन १६ गतेदेखि शेयर विक्री खुल्ला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर निष्कासन गरेकोमा २ लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । यसमा क वर्गका आवेदनकर्ताले कम्तीमा १ सय २ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आवेदकको बाँकी रकम अबको ५ दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उनले बताए । आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्कासन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप ५ दिन शेयर आवेदन भर्ने म्याद थपिएको थियो ।
शेयर आवेदन दिनेमध्येमा दुई स्थानबाट आवेदन दिने दुई जनाको आवेदन रद्द भएको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको थियो । सर्वसाधारणलाई विक्री गरिने २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई विक्री गरिएको हो ।