मध्य भोटेकोशीको १ अर्ब ४४ करोड कित्ता आईपीओ आउँदै | ५० देखि १ हजार २ सय कित्तासम्म भर्न पाइने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले यही कात्तिक २८ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई गरी २४ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड रुपैयाँबराबरको १ करोड ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कर्मचारी सञ्चयकोषका संचयकर्ताका लागि १ अर्ब १७ करोड रुपैयाँबराबरको १ करोड १७ लाख कित्ता निष्कासन गर्न लागेको छ । त्यसका लागि सञ्चयकर्ताले आगामी कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म आवेदन दिन पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणिप्रसाद काफलेले जानकारी दिए ।
त्यसैगरी, संगठित संस्थाका कर्मचारीलाई २१ करोड रुपैयाँबराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता आईपीओ कम्पनीले निष्कासन गर्दै छ । यी संस्थाका कर्मचारीलले आगामी मंसिर १८ गतेदेखि २६ गतेसम्म आवेदन भर्न पाउने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन पाइने सीईओ काफ्लेले बताए । उनका अनुसार आवेदनपत्र भोलि (बिहीबार) प्रकाशित हुनेछ ।
त्यसैगरी, कोषका संचयकर्ताले न्यूनतम् ५० वा सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कोषका कर्मचारीले भने ५० देखि बढीमा १ हजार २ कित्तासम्म आवेदन दिन पाउनेछन् ।
सीईओ काफलेका अनुसार कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीका लागि आईपीओ निष्कासन गर्दै छ । यसमा १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँबराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी आयोजनाबाट आगामी २०७६ असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजना बनाउन निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणको १० र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७ प्रतिशत लगानी रहेको छ । त्यसै गरी सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, अरनिको हाइड्रोपावर कम्पनी लिमिटेड र सिन्धुभोटेकोशी हाइड्रो कम्पनी लिमिटेडको ३ प्रतिशत लगानी छ । ४९ प्रतिशत साधारण शेयरधनी र ५१ प्रतिशत संस्थापक शेयरधनीको स्वामित्व रहेको उक्त आयोजनामा सञ्चय कोषका सञ्चयकर्ताको १९.५, संस्थाका कर्मचारीको ३.५, सर्वसाधारणको १५ र आयोजना प्रभावित सिन्धुपाल्चोकवासीको १० प्रतिशत शेयर स्वामित्व रहनेछन ।