शुरु भयो धरहराको पुनːनिर्माण |
काठमाडौं । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनːनिर्माण शुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन शुरु गरेको हो ।
धरहरा पुनːनिर्माण काम शुरु भइसकेको र त्यसको जग हाल्ने कामका लागि खन्ने काम शुरु भएको प्राधिकरणले जानकारी दिएको छ । राष्ट्रिय पुनːनिर्माण प्राधिकरणले जीआईईटिसी−रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो ।
धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिने बताइएको छ । केही निर्माण उपकरण पनि त्यहाँ राखिने र त्यसका लागि सेनाले टुँडिखेल प्रयोगको अनुमति दिइसकेको प्राधिकरणले भनाई छ छ । त्यहाँ अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नेछन् ।
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।