उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको माघ १ गतेदेखि लागु हुनेगरी भाडादर समायोजन |
काठमाडौं । यातायात मन्त्रालयले उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको भाडादर समायोजन गरेको छ। मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर समायोजन गरेको हो।
पुस २० गते बसेको मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार ट्याक्सी सेवा प्रदायकले सर्तहरु पालना गर्ने गरी ‘भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ बमोजिम भाडादर समायोजन तथा निर्धारण गरिएको हो।
समायोजित मूल्य अनुसार पहिलो १ किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको छ। सो १ किलोमिटरपश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको छ। सो समायोजित भाडादर लागु गर्न मन्त्रालयले केही शर्तहरु तोकेका छन्।
मन्त्रालयले ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नु पर्ने बताएको छ। यसका साथै सेवाग्राहीले ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बर सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ्ग कार्ड उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्नेछ।