यो साता १६७.९७ अंकले बढ्यो नेप्से परिसूचक, बजारपूँजीकरण रू. ३८ खर्ब ३ अर्ब ३४ करोड पुग्यो |
काठमाडौं । यो साता धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा १६७ दशमलव ९७ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५२४ दशमलव ५० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६९२ दशमलव ४७ विन्दुमा पुगेको हो ।
यो साता पाँच दिनको कारोबारमा चार दिन बजार बढेको छ भने एक दिन घटेको छ । सन् २०२२ को पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढेको थियो भने दोस्रो दिन ३२ दशमलव ०३ र तेस्रो दिन ६३ दशमलव ०१ ले बढेको थियो । चौथो दिन भने नेप्से परिसूचकमा ३० दशमलव ७७ अंकको करेक्सन भएको थियो । सो दिनको करेक्सनपछि पाँचौ दिन पुनः नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेको हो ।
नेपालको धितोपत्र बजारको इतिहासमै ३ हजार २०० विन्दुमाथी पुगेको नेप्से परिसूचक मंसिर २९ गते २ हजार ३०० विन्दु तल झरेको थियो । मंसिर २९ गते नेप्से परिसूचक २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको हो । त्यसपछि भने नेप्से परिसूचक उकालो लागेर २ हजार ७०० विन्दु नजिक पुगेको छ । पछिल्लो समय सूचीकृत कम्पनीहरुको लाभांश र बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम जुट्दै जादा बजारमा सकारात्मक प्रभाव परेको जानकारहरुको भनाई छ ।
यो साता बजार सकारात्मक बन्दा कारोबार रकम पनि बढेको छ । गत साता चार दिनको कारोबारमा रू. १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार बराबरको ३ करोड ३ लाख ६१ हजार २४४ कित्ता शेयर खरिद विक्री भएको थियो । यो साता भने पाँच कारोबार दिनमा रू. २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरको ४ करोड १३ लाख ७२ हजार ५५६ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. ३ अर्ब ७४ करोड ९० लाख १५ हजार बराबरको १ करोड १० लाख ११ हजार ३१२ कित्ता बढी शेयर कारोबार भएको हो ।
यो साता कुल बजार पूँजीकरण पनि गत साताभन्दा रू. २ खर्ब ३५ अर्ब ९९ करोड ८१ लाखले बृद्धि भएको छ । गत साता रू. ३५ खर्ब ६७ अर्ब ३४ करोड ८० लाख रहेको कुल बजारपूँजीकरण यो साता रू. ३८ खर्ब ३ अर्ब ३४ करोड ६२ लाख कायम भएको छ ।