सुनचाँदीको भाउमा गिरावट, एक सातामा सुन १,१०० रुपैयाँले घट्याे |
काठमाडौं । सुनको भाउ निरन्तर दोश्रो दिन पनि गिरावट भएको छ । पुष २३ गते, शुक्रबार सुन तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा झरेको छ ।
शुक्रबार तेजाबी सुन पनि प्रतितोला ९१ हजार १०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो दुई दिनमा एक हजार २०० रुपैयाँले गिरावट भएको छ ।
एक सातामा भने सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको छ । गत शुक्रबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा भने सुनको भाउमा सामान्य उतारचढाव देखिएको थियो । यो साताको सबैभन्दा उच्चतम कारोबार मूल्य आइतबार ९३ हजार ४०० रुपैयाँ तोकिएको थियो । यस्तै साताभरमा सबैभन्दा सस्तोमा आज नै सुन किनबेच हुँदैछ ।
शुक्रबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य बिहीबार पनि २५ रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २३५ रुपैयाँ तोकिएको थियो ।