प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार | डिस्चार्ज भने पर्सितिर मात्रै दिने डाक्टरको अडान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । उनको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले आज बिहान सजिलैसँग खाजा खानुभएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली सोमवार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरमा भर्ना भएका थिए । उपचारका क्रममा रगत परीक्षणको रिपोर्टअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेण्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘आज बिहान गरिएको रगत परीक्षणका सबै रिपोर्टहरू सकारात्मक आएका छन् । तर उहाँलाई आरामको जरुरी छ ।’ उपचारमा संलग्न चिकित्सकहरूले प्रमको स्वास्थ्य बिग्रनुमा दशैंको धपेडी मात्रै नभएर मौसम परिवर्तनले पनि असर परेको हुनसक्ने बताए । उपचारमा संलग्न चिकित्सकहरूले प्रमले डिस्चार्जका लागि आग्रह गरे पनि तत्काल डिसचार्ज भने नगर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा. सायमीको संयोजकत्वमा निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास सम्मिलित छन् ।