तेलको मूल्य छठसम्म नबढाउन उद्योग मन्त्रीले दिए निर्देशन | निगमले मूल्य समायोजन नगर्दा मासिक रू. २ अर्ब ८ करोड घाटा
काठमाडौं । पेट्रोल डिजेल र ग्यासको मूल्य अब छठसम्म नबढ्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । उनले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन् ।
उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले कारोबारमा घाटा भए पनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए । हाल निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा, डिजेलमा ९ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा सहेर उपलब्ध गराइरहेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा पनि निगमले मूल्य समायोजन नगर्दा मासिक २ अर्ब ८ करोड रुपैयाँ घाटा भइरहेको निगमले बताएको छ ।
सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँ ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी रहेको निगमले जानकारी दिएको छ । नेपालमा निगमले पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल १ सय १ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ४ सय रुपैयाँमा उपलब्ध गराइरहेको छ ।