माथिल्लो त्रिशुली ‘३ बी’ आयोजनाले बाँकी ९० रुपैयाँ माग गर्ने |
काठमाडौं । अग्रिम रुपमा पहिलो चरणमा सर्वसाधारणबाट प्रतिशेयर १० रुपैयाँमा मात्रै लिएर शेयर दिएको माथिल्लो त्रिशुली ‘३ बी’ आयोजनाले बाँकी ९० रुपैयाँ माग गर्ने तयारी गरेको छ। उक्त आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पूरा भएकाले थप रकम माग गर्ने तयारी गरेको हो।
५० प्रतिशत भौतिक प्रगति भइसकेकोले बाँकी रहेको ९० रुपैयाँ शेयर रकम माग गर्ने तयारी भइरहेको उक्त आयोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए।
‘कम्पनीको वार्षिक साधारण सभा यही पुसको अन्तिममा छ, सो साधारण सभा सम्पन्न गरिसकेपछि थप शेयर रकम माग गर्ने तयारी थाल्ने छौं,’ उनले भने, ‘आयोजनाको काम ५० प्रतिशत सम्पन्न भइसकेकाले पनि थप रकम माग गर्ने तयारी थालिएको हो।’
केही वर्षअघिसम्म आयोजना निर्माणमा गए लगतै शेयर जारी गर्ने र सर्वसाधारणबाट मोटो रकम असुल्ने चलन थियो। सर्वसाधारणको रकम रकम ‘होल्ड’ हुने र त्यसको ब्याज र प्रतिफल केही नपाउने भएपछि आयोजनाको भौतिक प्रगति ५० प्रतिशत काम पूरा भएपछि मात्र ९० रुपैयाँ माग गर्ने नियम ल्याइएको थियो।
यस्तो नियम ल्याएपछि जलविद्युत आयोजनाले सर्वसाधारण ठग्ने क्रममा कमी आएको छ। यसैगरी, केही वर्षयता जलविद्युत आयोजनाहरुको नियमन गर्न विद्युत नियमन आयोग गठन भएको छ। यसले पनि आयोजनामा भएका गल्ती कमजोरी हटाउने काम गरेको छ।