मनकामना केबलकारमा तीन वटा डब्बा थपियो, अब ३४ वटा डब्बाबाट यात्रुलाई सेवा |
काठमाडौं । मनकामना केबलकारमा तीन वटा गोन्डोला (डब्बा) थपिएको छ । तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्ने भएको छ । २० वर्षको अवधिमा एक करोड ३८ लाख १२ हजार बढी यात्रुले केबरकारमा यात्रा गरेका छन् ।
मनकामना मन्दिर जाने बाटोमा २०५५ मंसिर ८ मा सुरु भएको केबलकारमा २० वर्षपछि डब्बा थपिएको हो । यसले दैनिक थप एक हजार यात्रुलाई सेवा दिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले नयाँ डब्बाको शुभारम्भ गरे।
मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्रमा मनकामना केवलकार ईन्नोभेसनमार्फत स्थापित भएको डेस्टिनेसन भएको बताए । मनकामना केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार अहिले भारतीय पर्यटक आउने क्रम समेत बढेको छ । गत वर्ष केवलकार चढ्नेमा २१ प्रतिशत भारतीय रहेको उनले जानकारी दिए ।