सडक सुरक्षाको क्षेत्रमा नासाले जामसँग सहकार्य गर्ने |
काठमाडौं । नेपालको सडक सुरक्षा तथा अटो प्रयोगको सचेतनामूलक अभियानमा नासा फाउन्डेशन र नेपाल अटो पत्रकार संघ (जाम) बीच सहकार्य हुने भएको छ । सोमबार राजधानीमा सम्पन्न दुई संस्थाबीचको छलफलले सुरक्षित अटोको प्रयोग, सडक सुरक्षा तथा सूचनाको सम्प्रेषणमा आपसी सहकार्य गर्ने सहमति भएको हो ।
सडक सुरक्षामा भएका अन्तर्राष्ट्रिय प्रयोग, अध्ययन र त्यसको प्रभाव नेपालमा समेत लागू गर्न नासाले अग्रसरता लिने र त्यसको प्रभाव सकारात्मक सन्देश जामले आम सर्वसाधारण नागरिकसम्म पु¥याउने सहमति भएको हो ।
त्यसो त हाल नासाले नेपालमा रहेर अन्तर्राष्ट्रिय सञ्जालहरुसँग समेत जोडिएर नेपालको सडक सुरक्षा तथा अटो खेलकुदसम्बन्धी विविध गतिविधि तथा अध्ययनहरु गर्दै आएको छ ।
हालै मोटर स्पोर्ट्स सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफआइएको अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै नासाले उक्त कार्यसमितिको सदस्यता समेत प्राप्त गर्न सफल भएको छ ।
सोही अबसरमा अटो पत्रकार संघ (जाम)ले नेपालको तर्फबाट एफआइएमा रिजन २ बाट कार्यसमिति सदस्यमा निर्वाचित भएका नासाका सल्लाहकार गोविन्द प्रसाद भट्टराईलाई बधाई समेत ज्ञापन गरेको छ ।
यसै कार्यक्रम मार्फत नासाले समेत हालै मात्र गठित जामको नयाँ कार्यसमितिलाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।