सिभिल बैंकले लाभांश पारित गर्न साधारण बोलायो |
काठमाडौं । सिभिल बैंकले लाभांश पारित गर्न ११ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
यस्तै सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १९ गते सम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।