विद्युत प्राधिकरणले बिजुलीको तारलाई भूमिगत बनाउने, अन्तरराष्ट्रिय बोलपत्र आह्वान |

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वस्चालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । यस अघि लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत प्रणालीको पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिएको हो ।
प्राधिकरणले अनुमानित लागतभन्दा महङ्गो दर आएपछि करीब १० महिनाअघि शुरु गरिएको बोलपत्र प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको जानकारी दिएको छ । प्राधिकरणले हिजो आइतवार ४५ दिनको समयसीमा राखी बोलपत्र आह्वान गरेको हो । काम गर्न इच्छुक कम्पनीले आगामी २७ मङ्सिरसम्ममा आवेदन दिनसक्नु पर्ने प्राधिकरणले जानकारी दिएकोे छ ।
ठेक्का प्रक्रियामा सिर्जना भएको जटिलताले गर्दा काममा ढिलाइ हुन पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ । यो योजनालाई रणनीतिक महत्वको योजनाको रुपमा अगाडि सारिएको उनको भनाई छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले आयोजनामा सहुलितपूर्ण ऋण लगानी गर्ने दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को खरीद निर्देशिकाअनुसार पुनः बोलपत्र आह्वान गरिएको जानकारी दिए ।
पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गङ्गबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वस्चालित बनाउन लागेको हो ।
यस अघिको बोलपत्रमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम गर्न भारतीय कम्पनी क्रमशः लार्सन एण्ड टर्बो र केइआई इण्डष्ट्रिज लिमिटेडले सबैभन्दा कम रकम प्रस्ताव गरेका थिए । दुवै कम्पनीले प्रस्ताव गरेको रकम प्राधिकरणले तय गरेको अनुमानित लागतभन्दा बढी रहेको थियो । त्यसैले एडिबीको खरिद निर्देशिकाअनुसार पुरानो प्रक्रियालाई रद्द गरी नयाँ प्रक्रिया शुरु गरिएको हो ।
ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिने छ ।