सेञ्चुरी बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै |
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३० गते शुक्रबार, एघारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे भौतिक तथा भर्चुअलमाध्यमबाट एकैसाथ शुरु हुनेछ।
सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हाल कायम संस्थापक समूहको शेयर स्वामित्व ५३.४१ प्रतिशतबाट घटाएर ५१ प्रतिशत कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।