सिद्धार्थ बैंकले बोलायो साधारण सभा |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले पुस ३० गते शुक्रबार, सिल्भर ओक बैङक्वेट, गैह्रिधारा, काठमाडौँमा बीसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ भने उपस्थिति पुस्तिका बिहान ९ बजेदेखि नै खुला राखिने बैंकले जनाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।