लगातार तेस्रो दिन पनि नेप्सेमा सुधार, साढे ४ अर्बको कारोबार |
काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेको छ। गत मंगलबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।
नेप्से बढेपनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बुधबार ४ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ५९ हजार ८ पटकको कारोबारमा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको ८३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अपि पावर, नेशनल हाइड्रोपावर र ज्योति विकास बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन शिखर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ। कारोबारमा आएको गोर्खाज फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.७४ प्रतिशत घटेको छ। त्यसैगरी, सामलिङ्ग पावर कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।