रेल विभागले निजगढ– भरतपुर रेलमार्गको डीपीआर बनाउनका लागि आशयपत्र माग्यो |
काठमाडौं । निजगढ, हेटौँडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । कूल १३६ किलोमिटर लामो यो मार्ग मेची– महाकाली रेलमार्ग खण्डमा पर्छ ।
यस खण्डको नयाँ डीपीआर निर्माणका लागि आशयपत्र माग गरिएको विभागले जानकारी दिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रुख काट्नुपर्ने भएकाले नयाँ मार्गको पहिचान गरिएको हो । नयाँ प्रस्तावअनुसार पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा रेलमार्ग निर्माण गरिनेछ ।
यसअघि निकुञ्जभित्रबाट गरिएको डीपीआरले काम नगरेपछि नयाँ डीपीआर तयारीका लागि आशयपत्र माग गरिएको विभागको भनाइ छ । विभागका अनुसार आयशपत्र पेश गर्ने अवधि केही दिन बाँकी रहेको छ । केहीले आशयपत्र बुझाएका छन्, भने केही कम्पनी सम्पर्कका आएका छन् । निजगढ चोकबाट १० किलोमिटर पश्चिम हुँदै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी नयाँ रेलमार्गको प्रस्ताव गरिएको हो ।
छनौटमा पर्ने परामर्शदाता कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक रुपमा अध्ययन गर्नुपर्नेछ । यस्तै ठेक्का कागजात तथा परियोजना कार्यान्वयनका लागि कार्ययोजना समेत तयार पार्नुपर्नेछ । आशयपत्र पेश गर्ने परामर्शदाता कम्पनीमध्ये उत्कृष्ट कम्पनी छनोट गरी डीपीआरको काम सम्पन्न गरिने विभागले जानकारी दिएको छ ।
विभागका अनुसार बुटवल पश्चिम खण्डमासमेत डीपीआरको काम जारी छ । विभिन्न चार खण्डमा विभाजन गरेर उक्त रेलमार्गको डीपीआरको काम जारी रहेको र एकाध महीनाभित्रै सम्पन्न हुनेछ । मेचीबाट शुरु हुने पूर्व–पश्चिम रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म पुग्नेछ । सो रेलमार्गको कूल लम्बाइ करीब ९४६ किलोमिटर रहेको छ ।