मन्त्रिपरिषद् बैठकद्वारा मलेशियासँग श्रम सम्झौता गर्ने निर्णय | राष्ट्रपतिको भोलिदेखि हुने कतार भ्रमणलाई पनि दियो स्वीकृति

काठमाडौं । आज अपरान्ह सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मलेशियासँग श्रम सम्झौता गर्ने निर्णय गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुन लागेको कतार भ्रमणलाई पनि स्वीकृति दिएको छ ।
बैठकले श्रम सम्झौताको एमओयू स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । उनले स्वीकृत भएको एमओयूमा श्रम तथा रोेजगारमन्त्री गोकर्ण विष्टले हस्ताक्षर गर्ने बताए ।
त्यस्तै, मन्त्रिपरिषद्को सोही बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई पनि स्वीकृति दिएको छ । राष्ट्रपति भण्डारीको कतार भ्रमणका क्रममा कृषि तथा पशुपक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचनासम्बन्धी र कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताइएको छ ।