एचआईडिसीएल र साना किसान लघुवित्तको शेयरमूल्य समायोजन |
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान लघुवित्तको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।
यी दुबै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मिति समेत तय गरिसकेका छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले सोमवार बुकक्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो ।
नेप्सेले एचआईडिसीएलको ८ प्रतिशत र साना किसानको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । नेप्सेले एचआईडिसीएलको बोनस शेयरपछिको मूल्य रू. २४८ दशमलव ३३ र साना किसान लघुवित्तको रू. १ हजार १७६ तोकेको हो । नेप्सेले एचआईडिसीएलको अघिल्लो कारोबार दिन बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २६८ दशमलव २० को आधारमा र साना किसान लघुवित्तको रू. १ हजार ४७० को आधारमा मूल्य समायोजन गरेको हो ।
यस वर्ष एचआईडिसीएलले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशतका दरले बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते, बिहीबार कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौंमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २० औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बुक क्लोजको आधारमा यी दुबै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस १ गते बिहीवारसम्म कायम शेयरधनीहरुमात्र योग्य भएका छन् । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्मका शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने व्यवस्था रहेकाले पुस ५ गतेभन्दा अघिल्ला तीन कारोबार दिन बजार बन्द भएको थियो ।