कनेक्ट आईपीएस ईपेमेन्ट सञ्चालनमा, हट्यो चेक बाउन्सको समस्या | अबदेखि बैंक खाताबाट सिधै मोबाइल वालेटमा र वालेटबाट बैंक खातामा फण्ड ट्रान्सफर गर्न सकिने
काठमाडौं । अबदेखि चेक बाउन्स हुने समस्याको अन्त्य हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले विद्युतीय भुक्तानी (कनेक्ट आईपीएस ईपेमेन्ट) प्रणालीको शुरुवात गरेसँगै त्यस्तो समस्याको अन्त्य हुने भएको हो । नेपाल क्लियरिङ हाउसले ल्याएको नयाँ प्रणाली कनेक्ट आईपीएस ईपेमेन्टको शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले इलेक्ट्रोनिक भुक्तानी कारोबारले चेक बाउन्स हुने समस्याको अन्त्य हुनुका साथै खुद्रा पैसा नहुने र नोट थोत्रो हुने समस्या हट्ने उनको भनाइ थियो । उनले सकेसम्म कम खर्चमा सुविधा प्रदान गर्न आग्रह गरेका छन् ।
नेपाल क्लियरिङ हाउसका अनुसार कनेक्ट आईपीएस ईपेमेण्ट प्रणालीमा आवद्ध भएका कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरूले आफ्नो बैंक खाताबाट सिधै आईएमई पे मोबाइल वालेटमा फण्ड लोड गर्न सक्ने व्यवस्था गरिएको छ । मोबाइल वालेटबाट बैंक खातामा फण्ड ट्रान्सफर गर्ने सुविधासमेत उपलब्ध छ ।