ढुंगा, बालुवा र गिटीको जथाभावी उत्खनन तथा विक्री रोक्न समिति |
काठमाडौं । सरकारले ढुंगा, बालुवा र गिट्टीको जथाभावी उत्खनन र विक्री भएको भन्दै त्यसको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको हो ।
ढुंगा, बालुवा र गिट्टी जथाभावी उत्खनन र विक्री भएकाले त्यसलाई नियन्त्रण गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए । समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने सहसचिव नेपालले जानकारी दिए ।
सहसचिव नेपालका अनुसार समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिने र ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे÷नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाणबमोजिम उत्खनन र संकलन भए÷नभएको राजस्व चुहावट र चोरी निकासी भए÷नभएको, ढुंगा, बालुवा र गिट्टीको मूल्यनिर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे÷नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन संकलनकर्तालाई गराउनेछ ।
समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खननमा रोक लगाउने अधिकारसमेत दिइएको मन्त्रालयले जानकारी दिएको छ ।