लुकुम खोला आयोजनाले बिजुली निकाल्यो, चारवटा हेलिकोप्टर गाउँमा पुग्दा लाग्यो भीड |
रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत् उत्पादन गर्न शुरू गरेको छ । हङकङ निवासी सरमाइकल कादुरीले बिहीवार विद्युत् उत्पादनको उद्घाटन गरेका हुन् ।
उनले १ सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् आयोजना निर्माणका लागि १० करोड रुपैयाँ सहयोग गरेका थिए । कादुरीको परिवार र डकुमेन्ट्री बनाउने टोली ४ वटा हेलिकोप्टर चार्टर्ड गरेर रुकुमपूर्व आयोजनास्थल पुगेको थियो । चारवटा हेलिकोप्टर गाउँमा एकैसाथ पुगेपछि हेर्नेहरूको घुइँचो लागेको थियो ।
कादुरी एग्रिकल्चर एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल संस्थामार्फत कादुरीको परिवारले ९ करोड ७५ लाख ६ हजार ७ सय ७९ रुपैयाँका साथै प्राविधिक सहयोगसमेत उपलब्ध गराएको थियो । १० करोड ३२ लाख ५६ हजार ७ सय ७९ रुपैयाँमा निर्माण भएको उक्त आयोजनामा नगद र श्रमदान गरी स्थानीय उपभोक्ताले ३५ लाख रुपैयाँबराबरको लगानी गरेका छन् ।
२०७३ साल कात्तिक २ गतेदेखि निर्माणण शुरू भएको उक्त आयोजना गत साउनमा सम्पन्न भएको हो । आयोजनाबाट गाउँपालिकाका काडाँ– ४, मोराबाङ– ३ र महत– ६ का ५ सय ९० घरधुरी लाभान्वित भएका छन् ।