नाडाको ४५ औ साधारण सभा: नेपालमै अटो उद्योग खोल्नु पर्नेमा जोड, नेतृत्वका लागि भोलि निर्वाचन हुने |
काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालको ४५ औं बार्षिक साधारण सभामा अटोमोबाइल व्यवसायीले नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा समक्ष व्यवसायीहरुले नीतिगत अस्थिरताको कारण नेपालमा चारपाँग्रै गाडीको एसेम्बल गर्ने वा नगर्ने अन्योलमा रहेको बताएका हुन ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्थिर नीति आए नेपालमै सवारीसाधन उत्पादन गरी उद्योग स्थापना गर्न सकिने बताए ।
‘हामी यतिवेला सरकारकै मुख हेरेर बसिरहको छौं’ उनले भने ‘अटोमोबाइलस् कम्पनीहरु उद्योग स्थापना गर्न तयार हुनुहुन्छ तर सरकारले नीतिगत रुपमा स्पष्ट र स्थिर हुनु पर्याे ।’ सरकारले सहजीकरण गरे नेपालमै गाडी उत्पादन गरेर व्यापार घाटालाई कम गर्न सकिने उनको भनाई छ ।
नाडाका अध्यक्ष प्रत्याशी तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरीले अटो व्यवसायीलाई सहयोग गर्न सरकारसँग आग्रह गरेका छन्। चौधरीले सरकारले व्यवसायीलाई केरकार नभई सहजीकरण गर्नु पर्ने बताएका हुन्।
चौधरीले अटो उद्योग स्थापना गर्ने कुरा सकारात्मक भए पनि तत्काल सरकारले नीतिगत रुपमा स्पष्ट नभइ नसकिने बताए ।
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत व्यवस्था गर्नु भन्दा पहिला सरोकारवाला निकायसँग छलफल गर्दा कार्यान्वयनमा सहज हुने बताए । पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बल हुन लागेकोमा उनले खुशी व्यक्त गरे।
अब गाडी उत्पादनको लागि पनि सरकारले सहयोग गर्नु पर्ने बताउँदै ढकालले नेपालमै उद्योग स्थापना हुँदा रोजगारी र विद्युत् खपत बढ्ने बताए।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमै अटो एसेम्बलिङ उद्योग नखोलेसम्म समृद्धि नआउने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले साधारणसभाको शुभकामना व्यक्त गर्दै नाडाको भूमिका बदल्न चाहेको बताए। नाडाले राजस्वमा २५ प्रतिशत योगदान घटाउन चाहे सहयोग गर्ने र अटो उद्योग स्थापनाको लागि जग्गा, विद्युत सहज उपलब्ध गराउन सक्ने अर्थमन्त्री शर्माको भनाई छ ।
‘उद्योग स्थापनाको लागि सुविधा माग गर्न आउनेलाई मन्त्रालयमा स्वागत गर्छु’ शर्माले भने शर्माले भने ‘राम्रा नीतिगत कुरामा स्थिरता दिनु पर्नेमा जोड दिँदै नीतिगत सिफ्ट गर्दा केही थेग्न सक्नुपर्छ।’ उनले विदेशी समान आयातमा प्रतिबन्धित गर्नेभन्दा पनि नेपालमै उद्योगी स्थापनामा नीतिगत सहयोग गर्ने बताए।
अर्थमन्त्री शर्माले व्यवसायीलाई नीतिगत अस्थिरताको त्रास नलिन आग्रह समेत गरे ।