काठमाडौं चार मिनरल वाटर उद्योगमा शिलबन्दी | मापदण्डविपरीत सञ्चालित पानी उद्योगमाथि कडा कारबाही हुन्छ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालनमा रहेका स्नो वेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा सरकारले शिलबन्दी गरेको छ । ती उद्योगले मापदण्ड निर्देशिकाविपरीत प्रशोधित पिउने पानी उत्पादन गरिरहेको अनुगमनका क्रममा पाइएपछि हिजो बिहीवार शिलबन्दी गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए ।
उनले भने, ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाविपरित सञ्चालनमा रहेका चारवटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर सचिव जिसी आफैं अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत पाइएको छ । विधिसम्मत ढंगले सञ्चालनमा नरहेका पानी उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको उनले बताए ।
सचिव जिसीले उद्योगमा दर्तासमेत नगरेका पानी उद्योगलाई प्रक्रिया पूरा गरेर मात्रै उत्पादन शुरू गर्न सचेत गराइएको जानकारी दिए । सरकारले मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी खाद्य वस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कारबाहीको दायरामा ल्याउने पनि स्पष्ट पारे ।
सरकारले यस वर्ष खाद्य वस्तुको स्वच्छता कायम गर्न खाद्य स्वच्छता अभियान नै सञ्चालन गरेको छ ।