नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो साधारणसभा |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्नो ३५औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ।
बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा भर्चुअल रुपमा साधारणसभा गरिएको बैंकले जनाएको छ।
साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो।
साधारणसभाको अध्यक्षता गरिरहेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए।
यसमा १२.६११ प्रतिशत बोनस सेयर र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ।
यस वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ खर्ब ६८ अर्बबाट वृद्धि भई १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी कुल लगानी अघिल्लो वर्षको १ खर्ब ४० अर्बबाट वृद्धि भई १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।