भौतिक पूर्वाधार मन्त्रालयको खर्च ३ महिनामा ८ दशमलव ३ प्रतिशत |

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष (आव) को ३ महीनामा पूँजीगत खर्चको ८ दशमलव ३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले मन्त्रालयका लागि छुट्याइएको रू. १ खर्ब १ अर्ब बजेटमध्ये ८ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको बताएका हुन् । उनका अनुसार ३ महिनामा पूँजीगत खर्चमध्ये ८ प्रतिशत खर्च हुनु नराम्रो होइन ।
मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण कोरिडोर र द्रुतमार्ग (फास्ट ट्र्याक) रहेका छन् । आर्थिक वर्षको शुरुमा टेण्डरको प्रक्रियामा जान समय लाग्ने भएकाले काम नै नभएजस्तो देखिने प्रवक्ता शर्माले बताए । उनले समयमै काम गर्न विभाग एवम् आयोजनाहरूलाई निर्देशन दिइसकिएको जानकारी दिएका छन् ।