सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्दै |
काठमाडौं । बुधबार नेप्से सूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से सूचक ५.२८ अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ।
नेप्से सूचक सामान्य बढेपनि पछिल्लो केहि दिन यता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ। गत आइतबार ५ अर्ब बढीको शेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ३ अर्ब ३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। बुधबार भने कारोबार रकम पनि ३ अर्बभन्दा तल झरेको छ। बुधबार ५३ लाख १० हजार २१५ कित्ता शेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँमा खरिद बिक्री भएको छ।
मौद्रिक नीतिको समीक्षापछि शेयर बजारमा पुनः बिक्री चाप बढेको छ। समीक्षामा लगानीकर्ताले अपेक्ष गरे अनुसारको नीति नआएपछि नेप्से सूचक घट्न थालेको हो। बुधबार नेप्से सूचक बढेर २६५० विन्दुसम्म पुगेको भए पनि सो बृद्धि टिक्न सकेन। अन्तिम समयमा नेप्से सूचक सामान्य अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ।
बुधबार सामलिङ पावर र न्यादी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने समृद्धि फाइनान्सको ७.७३ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंककको ७.३९ प्रतिशतले बढेको छ।
यस दिन आइसिएफसि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको ३.४० प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २.९६ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको २.९४ प्रतिशतले घटेको छ।
बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १४ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख, महिला लघुवित्तको ९ करोड ३० लाख, नेश्नल हाइड्रोपावरको ८ करोड ५१ लाख र महालक्ष्मी विकास बैंकको ७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छन्।