त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको तार तान्ने कार्य शुरू | तार विस्तारको काम सहज बनाउन नुवाकोटका विभिन्न स्थानमा ५ दिन विद्युत् बन्द हुने

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डब्बल सर्किट’ प्रसारण लाइनका लागि नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मंगलवारदेखि विद्युतीय तार तान्ने कार्य शुरू भएको छ । नुवाकोट र रसुवा जिल्लामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न वि.सं. २०६८ फागुन १४ गतेदेखि निर्माण शुरू भएको २२० केभी प्रसारणलाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न थालिएको हो ।
माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पहिलो चरणमा सूर्यमतीबाट चतुरालेहुँदै थानसिंहसम्मको खम्बा नं. २४.१ देखि २९ नम्बरसम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पाेरेशन (सीडब्लुई) ले तार तान्ने काम शुरू गरेको बताएका छन् ।
उक्त प्रसारणलाइनमा पर्ने १४० खम्बामध्ये अधिकांश खम्बा निर्माण भइसकेका र बाँकी खम्बा पनि तयार भई ठड्याउन मात्र बाँकी रहेकोे आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले बताए । उनका अनुसार प्रसारण लाइनमा कठिन मानिएका खम्बा निर्माण भइसकेकाले तार तान्ने काम शुरू गरिएको हो । उनले भने, ‘प्रसारण लाइन निर्माणमा स्थानीयवासीको अवरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्र उपभोगमा आइपरेका कठिनाइ समाधान भएसँगै तोकिएकै मितिमा प्रसारण लाइन पूरा हुने निश्चित भएको छ, त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि विद्युत् प्रसारणलाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले पनि ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेका छौं ।’
उक्त काम आगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदार कम्पनी सीडब्लूईलाई दिइसकिएको छ । उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिखमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको योजना बनाइएकाले सो अवधिअगावै त्रिशूली–काठमाडौँ प्रसारण लाइन पूरा गर्नुपर्ने भएको छ । नुवाकोट र रसुवामा उत्पादित करिब ९ सय मेगावाट विद्युत् सोही प्रसारण लाइनको एकै केन्द्रमार्फत केन्द्रीय प्रसारणलाइनसम्म जोडिन्छ । त्यसका लागि ४५ किमी प्रसारण लाइन निर्माणको कार्यलाई महत्वका रूपमा हेरिएको छ ।
नुवाकोट र रसुवामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ए, थ्री बीमध्ये त्रिशूली गंगा–गल्छी–त्रिशूलीलगायत गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारण लाइन निर्माणका लागि रू. २ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ ।
पाँच दिन विद्युत् बन्द गरिने
मंगलवारदेखि त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको तार विस्तारको काम सहज बनाउन नुवाकोटका विभिन्न स्थानमा ५ दिन दिनभर विद्युत् कटौती हुने प्राधिकरणले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार उक्त क्षेत्रमा आगामी आइतवारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।