आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू.७ करोड ७० लाख नाफा कमाएकोमा चालू आवमा रू. ५ करोड ७ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत र सञ्चालन नाफा ३४ प्रतिशत घटेको हो ।कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू.४८ करोड ११ लाख १६ हजार सञ्चित गरेको छ ।
चालू आवमा कम्पनीले रू. ३५ करोड ५१ लाख ६ हजार सापटि लिएर, रू.२ ऋर्ब ३० करोड १४ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ९४ करोड ८८ लाख ९१ हजार कर्जा लगानी गरेको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।
उक्त आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।