लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पातिर गर्न बैंकले मंसिर २८ गते, मंगलबार, आफ्नो प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा ३५ औँ वार्षिक साधारण सभा डाकेको हो।
सो सभा बिहान १० बजे शुरु हुनेछ। कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी बैंकले सो सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न गरिने जनाएको छ।
सभाले बैंकको प्रबन्धपत्रको दरमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।