तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि पूर्वछनोट भएका कम्पनीलाई प्रस्ताव माग |
दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले अर्धजलाशययुक्त १ सय ४ मेगावाटको आयोजना तल्लो सेतीको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ । १ सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको उक्त कम्पनीले आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्नका लागि पूर्वछनोट भएका ६ कम्पनीलाई प्रस्ताव माग गरेको हो ।
आयोजनाको डीपीआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेकोमा अमेरिका, तीन युरोप र दुई एशियाका कम्पनी पूर्वछनोटमा परेका छन् । प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने कम्पनीले जानकारी दिएको छ । काम शुरू भएको २० महीनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए ।
डीपीआरका लागि एशियाली विकास बैंक (एडीबी) ले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनियरिङ तयार गर्नुपर्नेछ । २२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशययुक्त आयोजना हो ।
यसअघि नै जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले उक्त आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । शुरूमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएपछि तनहुँ जलविद्युत् आयोजना (१ सय ४० मेगावाट) को विद्युत्गृह हुँदै टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ । तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती) को लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको छ ।
कम्पनीका अनुसार आयोजनाको रिटर्न अन इक्विटी (स्वपूँजीमा गरिएको लगानीको प्रतिफल) करीब २० प्रतिशत हुनेछ । यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने विश्वास गरिएको छ । कम्पनीले आयोजनामा स्थानीयवासीका लागि पनि शेयर लगानीको अवसर दिने बताइएको छ ।