निर्मला हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्कासनका लागि प्रहरी प्रधान कार्यालयले गर्यो सिफारिश |
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्कासनको सिफारिश गरेको छ । गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तको मुद्दाके छानबिनमा उनले लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई निष्कासनको तयारी गरेको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्रमार्फत सिफरिश गरेको प्रहरी प्रवक्ता सैलेश थापा क्षेत्रीले जानकारी दिएका हुन् । उक्त घटनामा प्रहरी उपरीक्षक विष्टलाई यसअघि भदौ ९ गते छानबिनका लागि निलम्बन गरिएको थियो ।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान कार्यालय बोलाइएका विष्टलाई घटना अनुसन्धान अवधिभर निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । बैठकले प्रहरी नायब उपरीक्षक सेठी र जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा बोलाएको थियो ।