नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ ‘खल्ती’ मा |
काठमाडौं । खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने घोषणा गरेको छ। २७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका छन्।
आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरूमा गहन अनुभव बटुली सकेका छन् । उनले ’खल्ती’को व्यवस्थापन समितिसँग मिलेर ’खल्ती’को वित्तीय र डाटा सुरक्षालाई प्राथमिकता दिने भिजनमा काम गर्नेछन्। खड्का भन्छन्, “म यस उद्योगलाई थप सुविधा र सहजताको साथ व्यक्तिगत वित्तीय व्यवस्थापन प्लेटफर्ममा परिणत गरि भुक्तानीको लागि मात्र प्रयोग हुने दायरा भन्दा बाहिर लग्न चाहन्छु।“
सीईओ नियुक्तिको अवसरमा कम्पनीमा अभिन्न भूमिका निर्वाह गर्दै आएका ‘खल्ती’का चारैजना सह–संस्थापक तथा निर्देशकहरुले आ–आफ्नो सामाजिक सञ्जालमा यसबारे लेखेका छन् ।
‘खल्ती’ को प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढि छन् ।