आम आवश्यकता बनेको मोबाइल फोनको फस्टाउँदो बजार, वर्षमा २५ अर्बको आयात | सबैभन्दा धेरै चीनबाट आयात, भारत तेस्रो नम्बरमा, बजार प्रवर्द्धनका लागि दशैंतिहारमा उपहारको वर्षा
काठमाडौं । अब मोबाइल फोन कुराकानी गर्ने माध्यममा मात्र सीमित रहेन । मोबाइलमा थपिएका सुविधाले गर्दा अब मोबाइल मल्टिमिडिया उपकरण भएको छ । यसमा उपलब्ध सुविधाका कारण यसको बजारले गुणात्मक रूपमा बढिरहेको छ । गत आर्थिक वर्ष (आव) मा करिब २५ अर्ब रुपैयाँबराबरको मोबाइल नेपाल भित्रिएको छ ।
अघिल्लो आव २०७३⁄७४ मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएकोमा गतआवमा बढेर २४ अर्ब ८८ करोडमा पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । अर्थात् गतवर्ष २ अर्ब २२ करोड बढी मूल्यको मोबाइल आयात भएको हो ।
आव २०७३⁄७४ मा ५९ लाख ५५ हजारवटा मोबाइल सेट आयात भएकोमा गतआवमा यो संख्या ६२ लाख २४ हजारमा पुगेको छ । अघिल्लो आवको तुलनामा गत आवमा २ लाख ६९ हजारवटा फोन बढी आयात भएको छ । यो हेर्दा गतआवमा मोबाइल सेटको आयात झण्डै ५ प्रतिशतले बढेको देखिन्छ । आव ७३⁄७४ मा आयात वृद्धिदर १९ प्रतिशत थियो ।
ʽमिड रेञ्जʼ फोनको विक्री बढी
नेपालमा पछिल्लो समयमा मिड रेञ्ज बजेट मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ । मध्यम वर्गीय मात्रै नभएर गरिब परिवारका सदस्य पनि मिड रेञ्जकै स्मार्टफोन बोक्न आकर्षित भएका छन् । १० हजारभन्दा महँगा र २५⁄३० हजारसम्म मूल्य भएका मोबाइलको बजार फैलिँदो देखिन्छ ।
नेपालमा प्रचुर सम्भावना भएकाले नै मोबाइलका नयाँनयाँ ब्राण्ड भित्रिइरहेका छन् । स्मार्टफोनको बजारमा विश्व बजारमै देखिएको तीव्र प्रतिस्पर्धा नेपाली बजारमा पनि कम रोचक छैन । सामसुङ, एप्पल, हुवावे, ओप्पो, जिओनी, कलर्स, म्याक्रोम्याक्स, साओमी, एलजी, सोनी, जेटीई, कुलप्याड, सीजीलगायतका स्मार्टफोन कम्पनी नेपालमा मुख्य प्रतिस्पर्धामा छन् । विशेष गरी इण्टरनेटको पहुँच सरल बन्दै जाँदा स्मार्टफोनमा युवा पुस्ता मात्रै नभएर प्रौढ पुस्ता पनि आकर्षित छन् । त्यसैकारण पनि आयात तथा विक्री क्रम उकालो लागि रहेको छ ।
सबैभन्दा धेरै चीनबाट आयात
सबैभन्दा बढी फोन चीनबाट आयात भएका छन् । केन्द्रको तथ्यांकअनुसार १९ अर्ब ७२ करोड रुपैयाँबराबरका ५४ लाख १३ हजारवटा सेट चीनबाट भित्रिएका छन् । पछिल्लो समय नेपालमा भियतनामबाट पनि अत्यधिक मात्रामा मोबाइल फोन आयात हुने क्रम बढेको केन्द्रको तथ्यांकमा उल्लेख छ । गत १ वर्षको अवधिमा भियतनामबाट मात्रै ४ अर्ब ७२ करोड रुपैयाँबराबरका ५ लाख १० हजारवटा मोबइल सेट नेपाल भित्रिएका छन् । त्यस्तै, मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पर्छ । एक वर्षभित्र भारतबाट ३८ करोड ८६ लाख रुपैयाँबराबरका २ लाख ९५ हजारवटा मोबाइल सेट नेपाल आएका छन् । त्यसबाहेक नेपालले अमेरिका, कोरियालगायतका मुलुकबाट पनि सानै संख्यामा भए पनि मोबाइल सेट आयात गरिरहेकोे छ ।
दूरसञ्चार सेवाको भूमिका
अहिले शहरदेखि गाउँसम्म मोबाइल सेवाको पहँुच पुगेकाले नेपालीका हातहातमा मोबाइल सेट देखिन थालेको छ । महँगो होस् वा सस्तो, एउटै परिवारमा मोबाइल बोक्ने दुई–तीन पुस्ता भेट्न सकिन्छ । फोेन सेटलाई आप्mनो प्रतिष्ठासँग जोडेर हेर्ने वर्ग नै नेपालमा विक्री हुने ५० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने मोबाइलका ग्राहक हुन् । हाल नेपाली बजारमा रू. १ हजारदेखि १ लाख ५० हजारभन्दा बढी मूल्यका मोबाइल फोन उपलब्ध छन् । ब्राण्डेड र ननब्राण्डेडको उत्तिकै व्यापार भइरहेको बजारमा केही वर्षयता सस्ता चिनियाँ स्मार्ट फोनले पनि ठूलो बजारहिस्सा ओगटेको छ । बढ्दो प्रतिस्पर्धाले ब्राण्डेड मोबाइल सेटको मूल्यमा समेत कमी आएको छ ।
नेपाली मोबाइल सेवाका उपभोक्ताहरू अब एउटै कम्पनीको सेवामा निर्भर हुन छाडेका छन् । त्यसैले डबल सिम लाग्ने मोबाइलको बजार एकदमै बढेको छ । जसका कारण ब्राण्डेड मोबाइल कम्पनीहरूले समेत कम मूल्यमा डबल सिम लाग्ने मोबाइल सेट नेपाली बजारमा ल्याइरहेका छन् ।
दशैंमा मोबाइल किन्दा छुटैछुट
कति पैसा बोकेर हिँड्नुभएको छ ? अहिल्यै नै विचार गर्नुहोस् । केही हजार रुपैयाँ मोबाइल सेट किन्न छुट्याइराखे हुन्छ । ‘दशैं’ सपिङ गर्नेहरूका लागि उपहार र छुटको मौसम नै हो । यसमाथि मोबाइलका पारखीहरूका लागि त यो मौसम रोजाइको मोबाइल किन्ने सुनौलो अवसर बन्न सक्छ । बजारमा विभिन्न ब्राण्डका मोबाइलको प्रतिस्पर्धा निरन्तर बढेको छ । प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न मोबाइल विक्रेताहरूले लोभलाग्दा उपहार योजना सार्वजनिक गरेर चाडपर्वको अवसरलाई सदुपयोग गर्नतर्फ लागेका छन् ।
स्मार्ट फोनमा आकर्षण
विभिन्न ब्राण्डका मोबाइल बजारमा उपलब्ध छन् । तर, उपभोक्ताको विशेष रूचि भने स्मार्ट फोन सेटमा देखिएको छ । २ हजार ५ सय रुपैयाँदेखि उपलब्ध हुने मोबाइलमा विभिन्न एप्लिकेशनका साथ अडियो प्लेयर, क्यामेरा, भिडियो प्लेयर, एमपीथ्री, ब्लुटूथ, साउण्ड रेकर्डर, भिडियो रेकर्डरलगायत विविध सुविधा उपलब्ध हुन थालेपछि उपभोक्ताको आकर्षण मल्टिमिडिया सेटमा बढेको हो । अहिले उपहार योजनामा समेटिएका ९५ प्रतिशतभन्दा बढी मोबाइलका मोडेलमा मल्टिमिडिया सुविधा छन् ।
मोबाइललाई कुराकानी र सन्देश आदानप्रदानको माध्यमबाट परिष्कृत गर्दै विभिन्न कम्पनीले यसैमा चलचित्र हेर्न र प्रोजेक्टरका रूपमा समेत प्रयोग गर्न मिल्ने सेटसमेत बजारमा ल्याएका छन् । मोबाइलको बहुप्रयोजन हुने भएकाले पनि ग्राहकहरू मल्टिमिडिया मोबाइलतर्पm आकर्षित भएका हन् । मोबाइल विक्रेताहरूले पनि ग्राहकको चाहनाअनुसारकै सेटमा बढी उपहार र छुट दिएर आप्mनो बजार प्रवद्र्धन गरिरहेका छन् ।
बढ्दो उपभोक्ता सहायक
नेपालमा हरेक महीना मोबाइलका उपभोक्ता बढिरहेका छन् । यो मोबाइल विक्रेताका लागि सुखद अवसर हो । यही बजारलाई सदुपयोग र प्रवद्र्धन गर्न उपहार र छुट योजना गतिलो माध्यम भएको छ । अहिले ३० भन्दा बढी मोबाइल ब्राण्डले उपभोक्ता आकर्षणका लागि बजार प्रवद्र्धन गरिरहेका छन् । उपहार र छुट योजनाले उपभोक्ताको सङ्ख्या त बढाएको छ नै, ग्राहकले पनि सस्तो मूल्यमा विभिन्न सुविधासहितका मोबाइल प्रयोग गर्न पाएका छन् । दशैंतिहार अफरबाट विक्रेता र ग्राहक दुवै थप लाभान्वित भएका छन् ।
ताम्राकारमा मोबाइल किन्दा छुट र उपहार
काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । भदौ २२ गतेदेखि शुरू भएको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।
सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डीटीसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी, लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
नेपालीहरूको महान् चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टीभी, स्मार्ट फोन वितरण गरिनेछ । यसैगरी, दैनिक २ वटा मोबाइल, १० वटा ब्लूटूथ तथा पावर बैंक लक्की ड्रमार्फत वितरण गरिने व्यवस्था गरिएको छ भने साप्ताहिक रूपमा एउटा सामसुङको ३२ इन्चको टीभी लक्की ड्रमार्फत नै वितरण गरिनेछ ।
ओप्पोले ल्यायो ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेन २०१८
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पोले दशैँ र तिहारलाई लक्षित गरेर ‘बेष्ट दशैं गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओप्पो ब्राण्डका कुनै पनि फोनको खरिद गरी उपभोक्ताले ‘बेष्ट दशैं गिफ्ट’ क्याम्पेनमा सहभागिता जनाई आकर्षक उपहार जित्न सक्छन् । उपभोक्तालाई फोनको खरिदमा एक थान ‘लक्की ड्र’ कुपन उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यसरी प्रदान गरिएका कुपनको अर्धकट्टी संकलन गरी दुई पटक गोला प्रथाको आयोजना गर्ने र छनोटमा परेका भाग्यशाली विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।
क्याम्पेन अवधिभर ओप्पो मोबाइल खरिद गरी उपभोक्ता यस उपहार योजनामा सहभागी हुन सक्छन् । पहिलो गोला प्रथा नोवेम्बर ५ मा आयोजना गरिनेछ भने दोस्रोको आयोजना डिसेम्बर ५ मा हुने कम्पनीले बताएको छ ।
क्याम्पेनअन्तर्गत उपभोक्ताले पहिलो पुरस्कारका रूपमा सिंगापुर ट्रिप, दोस्रो ओप्पो एफनाइन, तेस्रो ३२ इञ्च एलईडी टीभी, चौथो वुफर र पाँचौं पुरस्कारका रूपमा ओप्पो ब्याग जित्न सक्नेछन् । साथै, सहभागीमध्ये तीन भाग्यशाली उपभोक्ताले ओप्पो नेपाल आइडल– २ ग्राण्ड फाइनलका लागि पास पनि जित्न सक्नेछन् ।
सुन्धाराको सीटीसी मलमा ६० प्रतिशतसम्म छुट
मोबाइल पारखीहरूका लागि नयाँ गन्तव्यको अवधारणासहित भर्खरै सुन्धाराको सीटीसी मोबाइल हबको शुरुवात गरिएको छ ।
नयाँ मोबाइल गन्तव्यका रूपमा लिइएको मोबाइल हबले भारी छुटसहित मोबाइल मेला शुरू गरेको हो । असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाकाका साथै ‘अफर भित्र पनि अफर’ नामक मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन । शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइलसमेत किन्न सकिन्छ । साथै, हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरूलाई समेत गोला प्रथाबाट विभिन्न ब्रण्डका मोबाइल वितरण गरिनेछ ।
ईजी मोबाइलको फेस्टिबल अफर सार्वजनिक
१ रुपैयाँमा मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले फेस्टिबल अफर ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरूका लागि फेस्टिबल अफर सार्वजनिक गरेको हो ।
न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरू किस्ताबन्दीमा बिक्री गर्दै आएको छ । सो अफरअन्तरर्गत ग्राहकले विभिन्न उपहारहरूसमेत प्राप्त गर्न सक्छन् । अफरअन्तर्गत सुविधा लिनका लागि आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य प्रतिशत ब्याजमा ग्राहकहरूले कुनै पनि ब्राण्डको स्मार्टफोन लिन सक्नेछन् ।
‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफरअन्तर्गत ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेष्टमेण्ट, मेगा, नबिल, सेञ्चुरी, माछापुच्छ्रे, प्रभु तथा कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले क्रेडिट कार्ड देखाएर मोबाइल खरिद गर्न सक्छन् ।
कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकहरूका लागि पनि सुविधा र अफर दिएको छ । ग्राहकले विभिन्न स्मार्टफोनहरूमा न्यूनतम ५ देखि ५० प्रतिशतसम्मको छुट पाउनेछन् । साथै, कम्पनीले मोबाइल एक्सचेञ्ज सुविधासमेत दिइरहेको छ ।
उक्त किस्ताबन्दीमा कुनै ब्याज लाग्दैन भने ग्राहकले पनि आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनोट गरेर भुक्तानी गर्न पाउँछन् ।
केएल मोबाइल मेलामा अफरै अफर
काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबको आयोजनामा केएल मोबाइल मेला सञ्चालनमा आएको छ । मेलामा जिरो डाउन पेमेण्टका साथ शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल पनि किस्ताबन्दीमा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । मोबाइल हबका अनुसार मेलामा ग्राहकले मोबाइलको ब्राण्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबका विक्री प्रबन्धक सन्दीप उप्रेतीले बताए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ ।
केही ब्राण्डका मोबाइलहरू शून्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शून्य प्रतिशत डाउन पेमेण्टबाहेकका उल्लेखित सबै अफरहरू हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले बताएको छ । अफरहरू केएल मोबाइल हब चाबहिलका साथै एप्पल वर्ल्ड मोबाइल, मर्कण्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सीटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्यूरोड तथा द वर्ल्ड भिजन मोबाइल सीटीसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने योजनासमेत राखिएको उक्त मेलामा मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उप्रेतीले जानकारी दिए ।