बुटवल पावरको नाफा बढ्यो |
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
कम्पनीले सो अवधिसम्ममा ७ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९.०८ प्रतिशत बढेर २० करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २०.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२.६७ प्रतिशत बढेको छ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ५५ पैसा बढेर १० रुपैयाँ २७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.६८ गुणा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९.९७ प्रतिशत बढेको छ भने जगेडा कोष ५.९९ प्रतिशत घटेको छ।