लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बोनसमा जोड |
काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
बैंकले यस अघि प्रस्ताव गरेको लाभांशमा नगद लाभांश घटाइ बोनस शेयरमा जोड दिएको छ। बैंकले अब १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। नेपाल राष्ट बैंककाे निर्देशनपश्चात बैंकले लाभांश संशाेधन गरेकाे हाे।
कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। १३ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ।