मिथिला लघुवित्तको खुद नाफा २६.३१ प्रतिशतले बढ्यो |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफा बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९० प्रतिशत बढेको छ। लघुवित्तले सो अवधिसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ३० लाख ७२ हजार रुपैयाँ छुट्याएको छ भने सो अवधिमा ७५ लाख ७१ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ७७.४० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा १८.१५ प्रतिशत बढेको छ भने निक्षेप ३२.१४ प्रतिशत र कर्जा २६.७५ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ५१ रुपैयाँ ७९ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५८ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ३ पैसा रहेको छ।