आईएमई ग्रुपले मौलाकाली मन्दिरमा केबुलकार बनाउने, काम अघि बढ्यो | आईएमई ग्रुपको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहने
काठमाडौं । राजधानीको चन्द्रागिरीमा गत साल मात्र केबुलकारको सफल सञ्चालनपछि आईएमई ग्रुपले फेरि अर्को केबुलकार निर्माण गर्ने तयारी गरेको छ । समूहले ५१ प्रतिशत लगानी गर्ने गरी नवलपरासी पूर्व जिल्लाको धार्मिकस्थल मौलाकाली मन्दिरसम्म पुग्नका लागि केबुलकार निर्माणको काम अघि बढाएको हो ।
समूहले उक्त केबुलकारको ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारेको छ । समूहका अनुसार मौलाकाली केबुलकार प्राइभेट लिमिटेडले प्रस्तावित मौलाकाली केबुलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम शुरू गरेको छ । वन तथा वातारण मन्त्रालयबाट ईआईए स्वीकृत भएपछि केबुलकार निर्माण अघि बढ्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार केबुलकार गैंडाकोट नगरपालिकाको धारापानी टोलमा बेस स्टेशन तथा मौलाकाली मन्दिर परिसरमा टपस्टेशन रहनेछ । ईआईए सकिएपछि विस्तृत आयोजना प्रतिवेदन डीपीआरका लागि काम अघि बढ्नेछ । यसअघि मनकामना र चन्द्रागिरी भालेश्वर मन्दिरमा केबलकार शुरू भइसकेका छन् ।
मैलाकाली मन्दिरमा केबुलकार निमार्णको कागजी प्रक्रिया धेरै अघि बढिसकेको र सरकारी निकायबाट उचित समन्वय भएमा १ वर्षभित्रमै केबुलकार सञ्चालन गरिने आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । सार्वजनिक सुनुवाइमा उनले छिट्टै निमार्णको काम शरु गर्ने जानकारी दिएका छन् ।
समूहले मौलाकालिका मन्दिरको फेदी धारापानी टोलमा १२ कट्ठा जमिन खरीद गरेर कम्पनी नै दर्ता गरेर केबुलकार निर्माणका लागि अन्य प्राविधिक तयारी गरेको छ । मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान गरिएको छ ।