लक्ष्मी लघुवित्तको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? |
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षकाे तुलनामा लघुवित्तकाे नाफा बढेकाे छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको कारण लघुवित्तको खुद नाफा बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६८.५३ प्रतिशत बढेको छ। लघुवित्तले सो अवधिसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ४ लाख रुपैयाँ छुट्याएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ५१.०२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा ४५.८२ प्रतिशत बढेको छ भने निक्षेप २७.५७ प्रतिशत र कर्जा ४०.४७ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३९ रुपैयाँ ८२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६९ रुपैयाँ ८२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ २३ पैसा रहेको छ।