कालिका लघुवित्तको नाफामा उल्लेख्य सुधार |
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षमा धनात्मक भएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।
खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.१९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३०.९२ प्रतिशत बढेको छ। लघुवित्तले सो अवधिसम्ममा ५ करोड २ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३०.७८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा २५.६० प्रतिशत बढेको छ भने निक्षेप १८.०९ प्रतिशत र कर्जा ३९.८६ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ रुपैयाँ ६४ पैसा ऋणात्मक रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६९ रुपैयाँ २० पैसामा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात १७.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा रहेको छ।