प्रथम अन्तरराष्ट्रिय विज्ञ सम्मेलन काठमाण्डौमा शुरु | आर्थिक समृद्धिको लागि सहयोग गर्न प्रधानमन्त्रीको आह्वान
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मुल आयोजनामा शुक्रबारदेखि शुरू भएको प्रथम एनआरएन अन्तरराष्ट्रिय विज्ञसम्मेलन शुरू भएको छ ।
विदेशमा रहेका नेपालीको पुँजी, सिप विज्ञान र प्रविधिलाई प्रवद्र्धन गर्नुका साथै डायसपोराको ज्ञानलाई राष्ट्रिय प्राथमिकता विकास आयोजनाहरुलाई उपयोग गर्ने उद्देश्यसहित विज्ञ सम्मेलन सुरु भएको हो । आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा कृषि, जलविद्युत, पर्यटन, विमा लगायत १९ वटा सत्रमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ । जसमा १६० जनाले कार्यपत्र प्रस्तुत गर्ने छन् भने ८० जना टीप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ ।
शुक्रबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले मूल नाराका साथ अघि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउन सबै पक्ष र क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
पूर्वाधार विकास, पर्यटन र समग्र क्षेत्रको आधुनिकीकरण सरकारको मुख्य प्राथमकिता रहेको बताउँदै उनले गैर आवसीय नेपालीसहित सबै पक्षको साथ सरकारले खोजेको र त्यसको सही सदुपयोग गर्न चाहेको बताए । उनले सरकारले पुँजीसँगै वैदेशिक ज्ञान सीप र प्रविधी पनि खोजेको बताए । ‘ज्ञान, सीप, अध्ययन र अनुसन्धान नै देश विकासको आधार हो’ गैर आवासीय नेपाली संघको प्रथम विज्ञ सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘हामीले एनआरएनबाट पुँजी मात्रै नभइ, ज्ञान सीप र प्रवधि पनि भित्र्याउन चाहन्छौ’।उहाँले देशमा अहिले देशले स्वदेशी तथा विदेशी लगानी खोजेको र त्यसमा साथ दिनको लागि एनआरएनहरूसँग आग्रह गरे ।
उनले देशको समग्र विकासको कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख समेत गरे । वैदेशिक लगानी भित्र्याउनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न प्रधानमन्त्री ओलीको आग्रह थियो । देश राजनीतिक कोर्ष पूरा गरी आर्थिक विकासमा केन्द्रित भएको बेला लगानी भित्र्याउनु र त्यसमा सहयोग गर्नु गैर आवसीय नेपालीको नैतिक दायित्व हुने बताए ।
उनले सरकार निजी क्षेत्र र गैरआवसीय नेपाली संघसँग सहकारर्य गरेर काम गर्न तयार रहेको प्रतिवद्धता जनाए । देशको आर्थिक समृद्धिको लागि आवश्यक वातवरण बनाउन सरकार सरकार तयार रहेको र त्यसमा एनआरएनहरूले सिकेको ज्ञान सीपको सदुपयोग गर्ने चाहना रहेको उनले बताए ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एनआरएनहरूलाई नजिकको साझेदारको रुपमा लिएका बताए । ‘नेपाल सरकार एनआरएनलाई टाढा रहेका नेपाली हैन साझेदारको रुपमा हरको हेर्न चाहन्छ’–मन्त्री ज्ञवालीले भने ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले पनि नीतिगत समस्या देशमा रहेको बताईन । उनले नीतिगत समस्या समधान गर्न सक्दा ठूलो लगानी भित्र्याउन सक्ने उल्लेख गरिन । केही वर्षअघि लगानी गर्न नसक्नुमा राजनीतिक अस्थिरता र अस्थिर सरकार, सुरक्षा नहुनु र चरम लोडसेडिङ रहेपनि अहिले कुनै समस्या नरहेको उनको भनाई थियो । उनले सरकार निजी क्षेत्र र एनआरएन सहकार्य गरेर अघि बढ्नु पर्ने बताईन । अध्यक्ष राणाले अहिले सबैको चासो व्यापार घाटा घटाउनु र सरकारले चाहेको आर्थिक वृद्धिको लक्ष्य हासील गर्नु पर्ने भएकोले जतिसक्यो धेरै लगानी विस्तार गर्न आवश्य रहेको बताईन ।
संघका अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध तुल्याउन आफूहरु दृढ रहेको बताउनुभयो। ज्ञान र सीप नेपालमा भित्र्याउनको लागि नै यस्तो किसिमको सम्मेलन गरिएको भनाइ थियो । उहाँले संसारभर छरिएका नेपालीलाई एकाकार पार्दै नेपाली भाषा, संस्कृति र अर्थतन्त्रमा टेवा र्पुयाउदै आएको उल्लेख गर्दै अब ती नेपालीले सिकेको ज्ञान र सीप पनि भित्र्याउन लागेको बताए ।
संघका संस्थापक अध्य डा. उपेन्द्र महतोले व्यक्ति जतिसकुकै धनीहँुदा पनि उसको पहिचान राष्ट्र समृद्ध हुँदा मात्रै खुल्ने बताए । उनले मातृभूमि नेपालको विकासलाई एनआरएनले थप प्राथमकिता दिनुपर्ने बताए । पूर्व अध्यक्ष जीवा लामिछानले मूल देश मातृभूमि भएकोले समृद्ध बनाउने चाहना रहेको बताए । उनले कर्म भूमी जहाँरहेपनि मातृभूमी शान्त र समृद्ध भएको एनआरएनले हेर्न चाहेको र एनआरएनएको अभियान पनि त्यसमा केन्द्रित रहेको बताए ।
निवर्तमान अध्यक्ष डा. शेष घलेले ट्राफिक व्यवस्थापन गर्नको लागि प्रधानमन्त्रीलाई आग्रह गरे । संघका सल्लाहाकार डा. हेमराज शर्माले एनआरएनहरूले अब पुँजीसँगै विदेशमा कमाएको ज्ञान र प्रविधि भित्र्याउनुपर्र्ने बताए । सम्मेलनका संयोजक तथा उपाध्यक्ष कुमार पन्तले अहिले देश बाहिर ८० लाख नेपाली रहेको बताउँदै सरकाको नारामा यी नेपालीलाई पनि सँगै हिडाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
शुक्रबार नै प्रर्चुगलका एनआरएनहरू प्रचुगलमा नेपालको दुतावास खोल्न प्रधानमन्त्री ओलीलाई लिखित प्रस्ताव पेश गरेका छन् । यसअघि स्पेनमा दुतावास नहुँदा धेरै समस्या परेको र अहिले समधान भएको बताउदै प्रर्चुगलमा दुतावास खुलाउन आग्रह गरेका हुन् ।
पुरस्कार तथा सम्मान
गत वर्ष नै एनआरएनएले तीन वटा प्रेसिडेन्टल अवार्डको घोषणा गरेकोमा शुक्रबार डन्डी वियो र निवन्ध लेखनमा विजेतहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । निवन्धतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः रमेश मगर्जी, मदनराज जैसी र स्वेता चौलागाइलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यस्तै डन्डी वियोतर्फ क्रमश पहिलो , दोस्रो र तेस्रो समूह नाजरेथ कलेज, रिम्स कलेज र कुटुम्ब कलेजका समूहलाई नगद सहित सम्मान गरिएको हो ।
त्यस्तै मदन पुरस्कार विजेता निलम कार्कीलाई पनि एनआरएनएले सम्मान गरेको छ । उनले अमेरिका बस्ने गैर आवसीय नेपाली हुन् । एनआरएनएले सामाजिक उत्तरदायीत्व अन्तर्गत खगेन्द्र नवजीवन केन्द्रलाई ह्वील चेयर हस्तान्तरण गरेको छ ।