समस्या समाधान नभए देशभरका कपडा उद्योग बन्द गर्ने संघको चेतावनी |
काठमाडौं । नेपाल कपडा उद्योग संघले कात्तिक १५ गतेसम्ममा आफ्ना समस्याहरू समाधान नभए देशभर रहेका सम्पूर्ण कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ । संघले शुक्रवार एक विज्ञप्ति जारी गर्दै त्यस्तो चेतावनी दिएको हो । देशभर २ सयभन्दा बढी कपडा उद्योगहरू सञ्चालनमा रहेका छन् ।
संघले समस्या समाधानको सुझाव दिन गठित कार्यदलको बैठकसमेत नियमित नबसी सरकारका तर्फबाट चासो नदिइएको गुनासो गरेको छ । उपलब्ध गराउनुपर्ने तथ्यांकहरू आफूहरूले सबै उपलब्ध गराइसक्दासमेत कार्यदलका संयोजक एवम् सदस्यहरूले प्रतिवेदन तयार गर्ने कार्यमा बेवास्ता गरेको संघको आरोप छ । कार्यदलको बैठक पनि जम्मा दुई पटक मात्रै बसेको संघले जानकारी गराएको छ ।
सरकारले जारी गरेको आर्थिक ऐन २०७५ बाट मुल्य अभिवृद्धि कर फिर्ता एवम् समायोजन सुविधा हटाइएका कारण ठूलो समस्या सृजना भएको भन्दै उद्योगीले गुनासो गरेपछि समाधानका लागि पहल गर्न अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको थियो । संघले उठाएका मागका विषयमा सरकारका तर्फबाट नीतिगत सुधारलगायत अन्य सुविधाका विषयमा सुझावसहितको प्रतिवेदन एक महीनाभित्र पेश गर्ने गरी अर्थमन्त्रीस्तरीय निर्णयबाट साउन १५ गते कार्यदल गठन गरिएको थियो ।
आर्थिक ऐन २०७५ जारी भएपश्चात सरकारले समस्या समाधानमा बेवास्ता गर्दा कपडा उत्पादनमा ५० प्रतिशतले कमी आएको साथै बडादशैंमा समेत नेपाली कपडाको विक्री वितरण हुन नसकेको संघको भनाइ छ । यो समस्यामा निकट भविष्यमा विकराल हुन सक्ने भन्दै संघका पदाधिकारी एवम् उद्योगीसहितको असोज २३ गते बसेको भेलाले सरकारलाई बेलैमा सचेत गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त भेलाले आर्थिक ऐन २०७५ बाट नेपाली कपडा उद्योगहरूले पाउँदै आएको सुविधासमेत हटाइएकाले त्यसबाट उत्पन्न समस्याका कारण उद्योग बन्द भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।